जनकपुर, २३ फागुन । वीरगन्ज चिनी मिलको जग्गा बेच्ने संघीय सरकारको निर्णयविरुद्ध प्रदेश २ को सरकारले संवैधानिक इजलासमा मुद्दा दायर गर्ने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चिनी मिलको जग्गा बिक्री रोक्न र सरकारी कार्यालय आफ्नो मातहत ल्याउन संघीय सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय गरेको हो ।
बैठकले सरकारी जग्गा हस्तान्तरण, वीरगन्जको चिनी मिलको जग्गा बिक्रीमा रोक र संघीय सरकार मातहत रहेको कार्यालय प्रदेश मातहत ल्याउन संवैधानिक इजलासमा मुद्दा हाल्ने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।
संघीय सरकारको फागुन ५ को मन्त्रिपरिषद् बैठकले वीरगन्ज महानगरपालिका–१४ स्थित चिनी कारखानाको जग्गामध्ये ६ बिघा जग्गा बिक्री गर्ने निर्णय गरेको थियो ।