कोरोना भाइरसका कारण काठमाडौँका बासिन्दालाई अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह


काठमाडौँ, २२ फागुन । कोरोना भाइरस फैलिन सक्ने जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौँका बासिन्दालाई अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

कोरोना (कोभिड–१९) भाइरसले विश्वका ७० बढी देशमा आतङ्क सिर्जना गरिसकेपछि नेपालमा पनि यो रोग भित्रिन नदिनका लागि सुरक्षाका उपायहरू अपनाउन थालिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना सङ्क्रमणको खतरालाई ध्यान दिँदै अर्को निर्णय नहुञ्जेलसम्मका लागि काठमाडौँका बासिन्दालाई अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको बताएका छन् ।

‘बुधवार जिल्ला सुरक्षा समन्वय समितिको बैठक राखेर तत्काललाई काठमाडौँमा कुनै पनि सभा–समारोह र ठुला जमघटका कार्यक्रम नगर्न–नगराउन तथा भिडभाडमा नजान काठमाडौँका नागरिकलाई आग्रह गर्ने निर्णय गरेका छौँ,’ प्रजिअ दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्