पत्रकार थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई थुना राख्ने आदेश


दैलेख,२१ फागुन । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मङ्गलवार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

मुख्य आरोपित चारमध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मङ्गलवार जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यले प्रहरीले तत्कालीन माओवादी कार्यकर्ता खड्कालाई जिल्ला अदालतमा उपस्थिति गराएपछि मुल्तवीमा रहेको कर्तव्य ज्यान मुद्दा जगाई मङ्गलवार नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जानकारी दिए ।

हत्या आरोपित खड्कालाई कैलालीबाट पक्राउ गरी अड्डासार गर्दै दैलेख ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्