जिप दुर्घटना हुँदा एक महिला र दुई पुरुषको मृत्यु


सुर्खेत, २१ फागुन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कर्णाली प्रदेश ०२००१ ज ०००७ नम्बरका जिप दुर्घटना हुँदा एक महिला र दुई पुरुषको ज्यान गएको छ ।
मृतकहरूको अन्य पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जिपमा रहेका अन्य चार जना गम्भीर घाइते भएका छन् । दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको जिप रातानाङ्ला धरमपोखरा सडक खण्डमा पर्ने राउटे गल्छेनामा दुर्घटना भएको हो ।

जिप अनियन्त्रित भएर सडकबाट झन्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि वीरेन्द्रनगर ल्याइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

त्यस्तै महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा आज बिहान बस दुर्घटना हुँदा पाँच घाइते भएका छन् ।
घाइते हुनेमा बैतडी सुर्नयाका २२ वर्षीया विनिता कुँवर (टेर), दार्चुला ब्यासका ३३ वर्षीय बिन्दु कुँवर, ५५ वर्षीय गोविन्दी कुँवर, दार्चुला दुहुका ३० वर्षीय ललित बोहरा र २४ वर्षीय महेश बडाल छन् ।

घाइतेको बैतडी र दार्चुलाका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । घाइतेको प्रहरीचौकी खोचलेकका प्रहरी सहायक निरीक्षक शङ्करदत्त भट्टको टोलीले उद्धार गरेको हो । बसमा सवार ४० जना रहेको भए पनि अन्यको अवस्थामा सामान्य रहेको छ ।

महेन्द्रनगरदेखि गन्ना जाँदै गरेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस न्वालीमा आज बिहान ५ बजेतिर एक्कासि नालीमा पल्टिन गई दुर्घटनामा परेको हो । बस चालक दीपक बोहरा प्रहरी नियन्त्रणमा रहेका छन् । ओरालो बाटोमा गति अनियन्त्रित हुँदा बस दुर्घटनामा परेको चालकले प्रहरी समक्ष बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्