कोरोना भाइरसको उच्च जोखिममा सतर्कता नअपनाएको सांसदहरूद्वारा सरकारलाई आलोचना


काठमाडौँ ,१९ फागुन । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहे पनि सतर्कता नअपनाएको भन्दै सरकारको आलोचना गरेका छन् ।

सोमबार सांसदहरूले कोरोना भाइरस सङ्क्रमण फैलिएको देशबाट आउने यात्रु पनि विना चेक जाँच नेपाल प्रवेश गरिरहेको भन्दै भयावह स्थिति आउनेतर्फ सचेत गराएका छन् ।नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले विश्व स्वास्थ्य सङ्गठनले नेपाल उच्च जोखिममा रहेको भनेर चेतावनी दिइसकेको अवस्थामा सरकारले सांसदलाई आश्वस्त पार्ने ढङ्गले जवाफ दिनुपर्ने बताए ।

उपप्रधानमन्त्रीको अध्यक्षतामा कोरोना सङ्क्रमण रोकथामका लागि समिति निर्माण गरेको सुनिए पनि त्यसले के काम गर्ने हो भन्ने विषयमा पनि सरकारको जवाफ चाहिने उनले बताए ।

नेकपा सांसद शान्ता चौधरीले सरकारले ठोस कदम चालेर कोरोना भाइरस नेपाल छिर्न नदिने वातावरण बनाउनुपर्ने बताइन् । उनले कोरोना भाइरस नियन्त्रणका लागि हात मिलाउन छाडेर नमस्कार गर्ने प्रचलनलाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्