काठमाडौँ ,१८ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले आइतबार काठमाडौँमा प्रदर्शन गरेको छ । नविसंघ त्रिचन्द्र क्याम्पस इकाईले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले सरकार विरुद्ध नाराबाजी गरे । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको उनीहरूको आरोप थियो ।
नेविसंघले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्न माग गरेको छ ।
स्वीस कम्पनीका एक जना एजेन्ट विजय मिश्रसँग कमिसनबारे कुरा गरेको अडियो सार्वजनिक भएपछि सरकारको प्रवक्ताको जिम्मेवारीमानसमेत रहेका बास्कोटाले यही फागुन ८ गते पदबाट राजीनामा दिएका थिए ।