मोडल खुश्वु ओलीलाई दुई वर्ष जेल सजाय


काठमाडौँ, १७ फागुन । चेक बाउन्स प्रकरणमा विवादित मोडल खुश्वु ओलीलाई जिल्ला अदालत काठमाडौँले शुक्रवार दुई वर्षको जेल सजाय सुनाएको छ । लेनदेनका क्रममा ओलीले सापटको पैसा तिर्नका लागि रकम नभएको कुमारी बैङ्कको बाउन्स भएको चेक सप्तरी राजविराज–८ का गोपाल कटुवाललाई दिएकी थिइन् ।

यसअघि तीन महिनाभित्र रकम तिर्न भन्दै अदालतले पुर्पक्षका लागि थुन्ने आदेश दिएको थियो तर ओलीले उक्त रकम तिरिनन् । २ वर्षअघि ओलीले कटुवाललाई आफूले घरजग्गा किन्न लागेको र त्यसका लागि रकम चाहिएको भन्दै ३६ लाख लिएकी थिइन् । खुश्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत उनले ३६ लाख रुपैयाँको चेक कटुवाललाई दिइन् । तर त्यसमा रकम थिएन । कुमारी बैङ्क न्युरोड शाखामा कटुवालले चेक बाउन्स गराई अदालतमा मुद्दा हालेका थिए ।

विनिमय अधिकारपत्र ऐन २०३४ को दफा ५३ बमोजिम कटुवालले मोडल ओलीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको फैसला गर्दै ओलीलाई जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रवार दुई वर्ष कैदको फैसला सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्