हिमपहिरोमा पुरिएर बेपत्ता भएका सातमध्ये एक जनाको शव फेला


पोखरा, १७ फागुन । अन्नपूर्ण पदमार्गमा गत माघ ३ मा आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका सातमध्ये एक जनाको शव शुक्रवार फेला परेको छ ।

हिमपहिरो आएको स्थल कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित देउराली नजिक नेपाली गाइड सरोज परियारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

बेपत्ताको खोजीमा जुटेका सरोजका दाइ सन्दीप परियार र ट्रेकिङ मजदुरको टोलीले शव निकालेको थियो । प्रवक्ता राजकुमार केसीले शुक्रवार मौसम प्रतिकूलताले प्रहरी टोली त्यसतर्फ पुग्न नसकेको बताए । शनिवार प्रहरी पुगेर शवलाई पोखरा ल्याउने डिएसपी केसीले बताए ।

उनको साथमा भएकी चिनियाँ पर्यटक हिमपहिरोबाट उम्कन सफल भएकी थिइन् । हिमपहिरोमा पुरिएका अन्य ४ कोरियाली नागरिक र २ नेपाली गाइड र पोर्टर अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्