बेलबारी, १७ फागुन – मोरङको बेलबारीमा आयोजना गरिएको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव २०७६ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय समिति बेलबारीको आयोजनामा फागुन १७ गतेदेखि २४ गतेसम्म हुने महोत्सवको शनिवार मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।
उद्घाटन हुनुअघि विभिन्न जातजातिहरूले झाँकीसहित बेलबारी बजार परिक्रमा गरेका थिए । विभिन्न जातीय रीतिरिवाज र परम्परा अनुसार जातीय भेषभुषा र बाजागाजासहित पुरानो बेलबारीबाट सुरु भएको जातजातिको झाँकी बजार परिक्रमा गरी महोत्सवस्थल पुगेको थियो । उद्घाटन कार्यक्रममा आदिवासी जनजाति महासंघमा आबद्ध विभिन्न जातजाति तथा शैक्षिक संस्थाहरूले झाँकी प्रदर्शन गरेका थिए ।
‘आन्तरिक पर्यटन मार्फत संस्कृतिको प्रवर्द्धन गरौँ, नेपाल भ्रमण वर्ष २०२० लाई सफल पारौँ’ भन्ने नारासहित आयोजित महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेश १ का प्रदेश सभाषद राजकुमार ओझा, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुली, सामाजिक विकास मन्त्री, उद्योग तथा वन मन्त्री लगायत अन्य स्थानीय तहका प्रतिनिधि, विभिन्न सङ्घ संस्था र दलका प्रतिनिधि र बेलबारी नगरका वडाध्यक्षहरूको पनि उपस्थिति थियो ।
आयोजक आदिवासी जनजाति महासंघमा आबद्ध १६ वटा जातजाति तथा आर्य, शिल्पी समुदायका समेत २१ वटा स्टलहरू नि:शुल्क रहने र अन्य ३४ स्टलसहित जम्मा ५५ स्टलहरू रहनेछन् ।
महोत्सवमा आदिवासी र जनजाति समुदायका जातजातिलाई निःशुल्क स्टल दिइनुको साथै जातीय मौलिकता प्रवर्द्धन गर्न प्रोत्साहन स्वरूप ३० हजार समेत उपलब्ध गराइएको र उद्घाटनको दिन प्रत्येक समुदायको लागि आवतजावत गर्न छुट्टाछुट्टै गाडीको समेत व्यवस्थापन गरिएको महोत्सव आयोजक समितिका संयोजक तथा नेपाल आदिवासी जनजाति महासङ्घ बेलबारीका अध्यक्ष तिलकप्रसाद राईले बताए ।
महोत्सव मार्फत जात जातिका मौलिक परम्परा, संस्कार, रहनसहन र खानपिनको प्रवर्द्धनका लागि तीन तहकै सरकारहरूको ध्यानाकर्षण गराउने लक्ष्य लिइएको छ ।
महोत्सव आयोजक समितिका संयोजक तथा नेपाल आदिवासी जनजाति महासङ्घ बेलबारीका अध्यक्ष तिलकप्रसाद राईका अनुसार जनजाति एवम् पिछडिएका जाती समुदायले महोत्सवमा राखिएका स्टलबाट गरेको आम्दानीबाट कोष खडा गरी उनीहरूकै जातीय विकासमा लगाउन प्रोत्साहन गरिनेछ । त्यसै गरी जातजातिको मौलिक खानपिनलाई आर्गानिक बनाउने र त्यसलाई ब्यबशायिक विकास गरी आय आर्जनको श्रोत बनाउन प्रेरित गर्ने उद्देश्य पनि लिइएको राईले बताए ।
महोत्सव अवधिभर हरेक दिन जाति तथा समुदायको दैनिक प्रस्तुतिहरू हुनेछन् । महोत्सवमा हरेक साँझ राष्ट्रिय तथा पूर्वेली कलाकारहरूले मनोरञ्जन दिनेछन् । महोत्सवमा राजेश पायल राई, प्रमोद खरेल, शिव परियार, आस्था राउत, मनोज गजुरेल, सन्दीप क्षेत्री, सत्यकला राई, पार्वती राई, कृष्णभक्त राई, अस्मिता अधिकारी, साजन राई, भीषण मुकारुङ, मेचु धिमाल रूपकुमार राई, तृष्णा गुरुङ, सुनिता थेगिम लगायत पूर्वेली तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
उद्घाटनको दिन आज कृष्णभक्त राई, सत्यकला राई, रूपकुमार राई, भीषण मुकारुङ लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ ।
आयोजकका अनुसार महोत्सवमा मौलिक खानपिनका परिकारका अलावा कृषि तथा उद्योगबाट उत्पादित सामग्री, अटोमोबाइल्स, होटेल लगायत विभिन्न खाले स्टलहरू रहेका छन् ।
महोत्सवलाई नेपाल आइसले मुख्य प्रायोजन गरेको छ । त्यसै गरी महोत्सवमा एनएमबी बैङ्क, बेतना सिमसार, कानेपोखरी बी एन्ड बी कन्स्ट्रक्सन र सयपत्री मल्टिपर्पोज कम्पनी प्रायोजक छन् । बेलबारी नगरपालिका र प्रदेश १ को उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय महोत्सवको मुख्य प्रवर्द्धक छन् । महोत्सवमा हस्पिटालिटी पार्टनर ड्रीमल्याण्ड फन, बीवाइक्यु ट्रान्सपोटेसन पार्टनर, बेलबारीमा रहेका आधा दर्जन बैंकहरु बैकिङ पार्टनर, आधा दर्जन स्कुलहरू एजुकेसन पार्टनर छन् । महोत्सवका लागि सामुदायिक वन तथा स्थानीय सङ्घ संस्थाहरूले पनि आर्थिक सहयोग गरेका छन् ।
त्यसै गरी नागरिक, नयाँ पत्रिका, ब्लाष्ट र बेतना दैनिक तथा रेडियो बेतना, पूर्वेली डटकम, उज्यालो प्रदेश डटकम, कोसी नेपाल टिभी, शताब्दी न्युज डटकम र सार्वजनिक डटकम महोत्सवको मिडिया पार्टनर छन् ।
स्मरण रहोस् आदिवासी जनजाति महासङ्घ बेलबारीले गत वर्ष पनि बेलबारी नगरपालिकाको सहयोगमा आदिवासी जनजाति फुड फेस्टिभल आयोजना गरेको थियो ।