काठमाडौँ, १६ फागुन । ‘प्रहरी मेरो साथी’ अभियान चलाइरहेका बेला प्रहरीबाटै हुने एकाध व्यवहार र कार्यशैलीले उसकै अभियानलाई ‘खिल्ली’ उडाइरहेको भान दिन्छ ।
शुक्रवार ललितपुरको भैंसेपाटीमा प्रहरीका एक उच्च अधिकारीले एक बच्चा बोकेकी महिलामाथि गरेको ज्यादतीले प्रहरीको ‘प्रहरी मेरो साथी’ नाराकै धज्जी उडाएको छ ।
प्रहरीका जवानले नभई प्रहरीको एक जिम्मेवार इन्स्पेक्टरले एक बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गरेको दृश्यले प्रहरी सङ्गठनको नारा एउटा र व्यवहार अर्को देखिएको स्पष्ट पार्छ । प्रहरी इन्स्पेक्टरले बच्चा बोकेकी महिलालाई लाठीले हानेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घर अगाडि बिहीबार दिउँसो केही महिला जम्मा भएका थिए । एक महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर, उनले आफूलाई श्रीमती स्विकार्न अस्वीर गरेको भन्दै सहयोगी लिएर उनको घर गएकी थिइन् । ती महिला चार महिनादेखि यसरी नै खत्रीको घर अगाडि ‘धर्ना’ दिइरहेकी स्थानीयले जानकारी दिएका छन् ।
घर बाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरेपछि त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाए । उनले एक महिलालाई पछाडिबाट लाठीले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा छाएको छ ।इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेको भिडियोले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । पछि प्रहरीले छ जना महिलालाई नियन्त्रणमा लियो ।
ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको बताएका छन् । यता इन्स्पेक्टर पौडेलले पनि आफूले ती महिलामाथि लाठी प्रहार गरेको स्वीकारेका छन् ।
बच्चामाथि निर्घात रूपमा लाठी हानिएको भिडियो बाहिर आएपछि लिइएको प्रतिक्रियामा पौडेलले सामान्य रूपमा भने, ‘प्रहरीले सामान्य बल प्रयोग गर्नुपर्ने अवस्था आएपछि गरिहाल्छ नि ।’
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई पक्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रिन लगाउनु पर्ने स्पष्ट व्यवस्था छ ।