काठमाडौँ, १६ फागुन । ७० करोड कमिसन मागेको अडियो टेप बाहिरिएपछि निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा न्याय माग्दै आज (शुक्रवार) काठमाडौँ जिल्ला अदालत पुगेका छन् ।
पदबाट राजीनामा दिएका बास्कोटा काठमाडौँ जिल्ला अदालत पुगेका हुन् । सेक्युरिटी प्रेस खरिद प्रकरणमा स्वीस एजेन्ट भनिएका विजयप्रकाश मिश्रसँगको कुराकानीको अडियो सार्वजनिक भएपछि उनले मन्त्री पदबाटै राजीनामा दिनु परेको हो ।
बास्कोटाले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘विरुद्ध लगाइएको झुटा लाञ्छना र गाली बेइज्जतीको विरुद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत विजय मिश्रविरूद्ध जिल्ला अदालत, काठमाडौँमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।’