सीपी मैनालीको कार दुर्घटना


महोत्तरी, १५ फागुन । महोत्तरीमा कार दुर्घटनामा परेका नेकपा (माले) का महासचिव सिपी मैनालीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइने भएको छ ।

बिहीबार दिउँसो झापाबाट काठमाडौँ आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कारलाई अर्को दिशाबाट आएको ना ४ ख ७६६८ पिकअप भ्यानसँग ठोक्किएको थियोमहोत्तरीको बर्दिबास नगरपालिका–३ चिसापानीमा भएको सो दुर्घटनामा महासचिव मैनाली घाइते भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताएका छन् ।

दुर्घटनामा मैनालीसहित पाँच जना घाइते छन् । घाइतेमध्ये मैनालीको अवस्था गम्भीर रहेको उनले जानकारी दिएका छन् ।दुर्घटनामा सोही कारमा सवार मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पिएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते छन् । दुर्घटना लगत्तै महासचिव मैनालीसहितका घाइतेहरूलाई उपचारका लागि बर्दिबासमा रहेको जनसेवा अस्पतालमा पुर्‍याइएको छ ।

‘उहाँको टाउको, निधार छातीमा चोट लागेको देखिएको छ’, प्रजिअ खत्रीले घटनाबारे सुनाए, ‘खुट्टा फ्याक्चर भएको छ ।’ उनले महासचिव मैनालीलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको जानकारी दिएका छन् । ‘हामीले गृह मन्त्रालयसँग अनुरोध गरेर हेलिकोप्टर मगाएका छौँ, हेलिकोप्टर आउँदै छ ।’

प्रतिक्रिया दिनुहोस्