काठमाडौँ, १४ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
उनले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद्बाट यससम्बन्धी कुनै निर्णय नभएको दाबी गरेका हुन् । ट्रस्ट प्रकरणमा उनले आफू संलग्न नभएको निर्णयमा नाम जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाएका छन् । म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रस्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन । मेरो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनले ०६४ मा नेपाल ट्रस्ट ऐन जारी हुँदा ट्रस्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित संस्था’ का रूपमा परिभाषित गरेको स्मरण गराउँदै बोर्डले गर्ने निर्णयमा प्रधानमन्त्रीका रूपमा आफूलाई गाँस्नु राजनीतिक र कानुनी दृष्टिले गलत रहेको जिकिर गरेका छन् ।