काठमाडौँ, १४ फागुन । रक्षा मन्त्रालयले नेपाली सेनाका १० प्रतिशत जनशक्तिलाई शान्ति मिसनमा खटाउने भएको छ ।
उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले बुधवार मन्त्रालयमा दुई वर्षे कार्यकालको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामा १० प्रतिशत सेना खटाउने विषयमा छलफल भइरहेको जानकारी गराएका छन् ।
उनले विदेशी मिसनमा जाँदा नेपाली सेनाले पनि नेतृत्व तहमा जिम्मेवारी पाउने विषयमा समेत राष्ट्रसंघसँग छलफल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघ शान्ति सेनामा नेपालबाट पाँच हजार एक सय सैनिक अधिकृत र जवानहरूको सहभागिता छ ।
नेपाली सेनालाई शान्ति मिसनमा पठाउँदा नेता तथा मन्त्रीका आफन्तले प्राथमिकता पाउने गरेको उल्लेख गर्दै त्यसको अन्त्य गर्नका लागि ‘शान्ति सेना छनौट कार्यविधि’ तयार गरिएको मन्त्री पोखरेलले जानकारी गराएका छन् ।
सुरक्षा सम्बन्धी उच्च अध्ययन अनुसन्धान प्रतिष्ठानको रूपमा ‘नेशनल डिफेन्स युनिभर्सिटी’ स्थापना गर्ने प्रक्रिया अगाडी बढाउँदै त्यसका लागि संस्थागत संरचना निर्माणको कम सुरु भइसकेको र पूर्वाधार विकासको काम अगाडि बढाउन लागिएको जानकारी मन्त्री पोखरेलले दिएका छन् ।