बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ


रौतहट ,११ फागुन । रौतहटको दुर्गा भगवती गाउँपालिका ३ पर्सा टोलका ७० वर्षीय फेकन पण्डित कुम्हारलाई आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

गत २८ माघमा गाईबस्तु बाँध्ने गोठसँगै रहेको छाप्रोमा सुतेका फेकनको अनुहार, टाउको र छातीमा हतौडाले हानिएको र धारिलो हतियारले अनुहार र घाँटी काटिएको अवस्थामा शव भेटिएको थियो ।प्रहरीले हत्या आरोपमा फेकनका छोरा २५ वर्षका राजकुमार पण्डितलाई पक्राउ गरेको छ । उनले हत्या आरोप स्वीकारेका छन् ।

आफ्नी पत्नीसँग आपत्तिजनक अवस्थामा देखेपछि रिस थाम्न नसकी बाबुको हत्या गरेको अभियुक्तले बताएका रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताएका छन् ।
राति ३ बजे बाबुको हत्या गरेपछि राजकुमारले पुनः घर आएर कपडा फेरेर गोठमा गएका थिए । उनले बिहान ५ बजे बाबुको हत्या भएको भन्दै गाउँले र प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका पण्डितलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गतको मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्