संसद्को सार्वजनिक लेखा समितिले मिश्रविरुद्ध उजुरी दर्ता


काठमाडौँ, ११ फागुन । अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध संसद्को सार्वजनिक लेखा समितिले आइतबार साइबर क्राइमको उजुरी दर्ता गरेको छ ।

निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध समितिका सदस्य सांसदहरूले अडियो प्रकरणमा आफूहरूलाई समेत मुछेर चरित्रहत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

समितिका सचिव डा. रोजनाथ पाण्डेले आइतबार उजुरी दर्ता गरिएको पुष्टि गरेका छन् ।मिश्रले अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरूको समेत मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत अभिव्यक्ति दिएका थिए ।

प्रहरी मुख्यालयमा रहेको साइबर अपराध हेर्ने शाखामा उजुरी दर्ता गरेको पाण्डेले बताएका छन् । मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सेटिङमा लेखा समितिका सांसदहरूको पनि मिलेमतो रहेको आरोप लगाएका थिए । सोही आधारमा लेखा समितिले मिश्रमाथि साइबर क्राइमको उजुरी हालेको हो ।

प्रतिक्रिया दिनुहोस्