७.५ मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला साना जलविद्युत् आयोजना उद्घाटन


काठमाडौँ ,१० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुम पावर कम्पनीले बनाएको ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला साना जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् ।

मेन्छ्याम गाउँपालिकामा भएको उद्घाटन कार्यक्रमलाई प्रधानमन्त्रीले बालुवाटारबाटै सम्बोधन गरेका थिए । उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री वर्षमान पुनलगायतको उपस्थिति थियो । यो आयोजनामा माछापुच्छ्रे बैङ्क लिमिटेडको नेतृत्वमा नेपाल बङ्गलादेश बैङ्क र ग्लोबल आईएमईले लगानी गरेका छन् ।करिब एक अर्व ३२ करोड ५० लाख लागतको आयोजनामा माछापुच्छ्रे बैङ्क लिमिटेडले ४० करोड, नेपाल बङ्गलादेश बैङ्कले ३० करोड र ग्लोबल आईएमईले ३० करोड लगानी गरेका छन् ।

स्थानीयवासीको समेत आयोजनामा सेयर लगानी रहने प्रवर्द्धक कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगीले बताए । यो आयोजनामा २० प्रतिशत सर्वसाधारणलाई पनि सेयर दिइने डाँगीले जानकारी दिए ।

आयोजनाबाट उत्पादित विद्युत् ४.७ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको जिरीखिम्ती सवस्टेसनमा जोडिएको छ ।

तेह्रथुमको खोरुङ्गा खोलाबाट विद्युत् उत्पादन गर्ने गरी २०६६ साल मङ्सिरमा विद्युत् सर्वेक्षण अनुमतिपत्र र २०७३ भदौमा उत्पादन अनुमतिपत्र लिइएको थियो । निर्माण सुरु भएको २ वर्षमा आयोजना सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्