गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने : प्रचण्ड


चितवन, १० फागुन । प्रेस सङ्गठन नेपालले गरेको पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् ।

नवलपुरद्वारा आज आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारेका हुन् ।‘सञ्चारमन्त्रीको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको छ’, अध्यक्ष दाहालले भने, ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौँ । म अहिले यति मात्रै भन्न चाहन्छु ।’

अध्यक्ष दाहालले सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा समेत नेकपाभित्र व्यापक छलफल भइरहेको बताउँदै पछिल्लो समय सरकारले काममा गति लिएको र आउने दशकलाई विकासको दशक, युवाहरूलाई आम रूपमा रोजगारीको दशक र समृद्धिको नयाँ आधारशिला बनाउन चाहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्