भारतको तीर्थयात्रामा दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १० पुगियो


काठमाडौँ, १० फागुन । इटहरीबाट तीर्थयात्राका लागि भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ ।

गत माघ २३ गते तीर्थयात्रामा गएका इटहरीवासी चढेको बस भारतमा बिहीबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा इटहरी–१०, ११ र १२ का १० जनाको ज्यान गएको सुनसरी प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० वर्षीय रसिलाल चौधरी, ६६ बर्षीया बुधनी थरुनी, ६५ बर्षीया फूलसरीदेवी चौधरी रहेका छन् ।

यस्तै ६५ बर्षीया मञ्जु राई, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरीको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश–१ ले जानकारी दिएको छ ।
३४ जना सवार रहेको मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी घाइतेहरूको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्