अडियो रेकर्डबारे सत्य–तथ्य चाँडै बाहिर आउने : मन्त्री बास्कोटा


कञ्चनपुर, ८ फागुन । कञ्चनपुरको बेलडाँगीमा नेकपाका कार्यकर्तालाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कमिसन मागेको भनिएको अडियो रेकर्डबारे सत्य–तथ्य चाँडै बाहिर आउने बताएका छन् ।

बास्कोटाले भने, ‘अहिले त प्रविधि छ, अनेक बनाउँछन् । टिकटकदेखि साँच्चैसम्मका चारवटा जोडेर पनि बनाउँछन् । मलाई त १२ अर्व खायो पनि भन्थे, हिजो फेरि कति करोडको निकालेका छन् रे । अर्वबाट करोडमा झरेछन् । त्यसको पनि पुष्टि हुनुपर्ला, प्रमाणित हुनुपर्ला ।’

मन्त्री बास्कोटाले आफूले पार्टीलाई धोका नदिने भन्दै व्यक्तिमाथि आरोप लाग्यो भने आफैँले पुष्टि गर्नुपर्ने बताए । मन्त्री बास्कोटाले आफू फेरि पनि पार्टीकै कमरेडहरूसँग काम गर्नुपर्ने भएकाले डराएर हिँड्नुपर्ने वा खुट्टा कमाएर हिँड्नुपर्ने काम नगरेको दाबी गरे । आफूसँग अरब र करोडका कुरा गर्नेहरू धेरै आएको भन्दै उनले त्यसको जवाफ दिने बताए ।

प्रतिक्रिया दिनुहोस्