बास्कोटाको कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली : अडियो सार्वजनिक


काठमाडौँ, ८ फागुन । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको छ ।

यस्तो कुरामा यी मु‘ कर्मचारीसँग लग्यो भने यिनीहरूले हेप्छन्‘’ अडियो संवादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले कर्मचारीलाई सङ्केत गर्दै एजेन्टसँग भनेका छन्, ‘यो मु‘.ले बनाएको त ३५ अर्वको छ नि, यो ३५ अर्व नै नभएपछि, २७ अर्वको निस्केपछि २८ अर्व बनाउनोस् ।’

अडियो संवादमा मन्त्री बास्कोटासँग कुरा गर्ने व्यक्ति स्विस कम्पनीको एजेन्ट हो भन्ने कुराकानीबाट बुझ्न सकिन्छ । अडियोको सुरुमै एजेन्टले मन्त्री बास्कोटालाई भनेका छन्,‘ यो १२ गते १२ बजेपछि स्विस एम्बेसी आउँछ.. समय मिलाउनुहोला ।’

२ मिनेट ३० सेकेन्डको अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटाबिच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको छ । मन्त्री बास्कोटाले कर्मचारीहरूलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो संवादमा सुन्न सकिन्छ । सूत्रहरूका अनुसार मन्त्री बास्कोटासँग कमिसनबारे संवाद गर्ने व्यक्ति स्विस कम्पनीका एजेन्ट विजय मिश्र हुन् ।

मन्त्रीसँग एमओयु गर्ने र कमिसन लेनदेन गर्ने कुराकानी भइसकेपछि मन्त्री पछि हटेपछि स्विस एजेन्टले अडियो ‘लिक’ गरेको देखिन्छ । बिहीबार सार्वजनिक भएको अडियो र त्यसमा प्रयुक्त भाषाले मन्त्री बास्कोटामाथि गम्भीर प्रश्न उठाइदिएको छ ।

अडियोमा के छ ?

मन्त्री बास्कोटाले स्विस कम्पनी केबीए नोटासिसका नेपाल प्रतिनिधि (एजेन्ट) सँग कमिसनबारे छलफल गरेको अडियो सार्वजनिक भएको हो । सञ्चारमन्त्री बास्कोटाले स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँग कुन ट्रयाकबाट जाँदा कमिसन बढी पाइन्छ भन्नेबारे सल्लाह गरेको अडियोमा सुनिन्छ ।

अडियोमा स्विस एम्बेसी आउने भन्दै एजन्टले मन्त्रीसँग समय मिलाउन भनेका छन् । मन्त्री बास्कोटाले ‘नर्मलमा ५० आउँछ ?’ भनेर सोधेका छन् । सामान्य तवरबाट काम गर्दा थोरै कमिसन आउने भएकाले मिश्रले ‘आउट अफ ट्रयाक’बाट जान मन्त्रीलाई सुझाएका छन् ।

यो प्रक्रियाबाट कुल ७० देखि ७४ करोड कमिसन आउने र त्यसको ७० प्रतिशत मन्त्रीलाई मिल्ने मिश्रले मन्त्रीलाई बुझाएका छन् । ५४–५५ करोड मन्त्रीको हात पर्ने मिश्रले बताएका छन् ।

मन्त्रीले अडियोमा एजेन्ट (मिश्र)लाई कति प्रतिशत आउँछ त भनेर समेत सोधेको पनि सुनिन्छ । मिश्रले ३० प्रतिशत आफूलाई आउने र त्यो एकदम पारदर्शी हुने बताएका छन् । मिश्रले १५–१६ करोड आफूलाई आउने बताएका छन् ।

मन्त्री बास्कोटाले अडियोमा २५ देखि २७ अर्वको परियोजना बनाउन लागेको बताएको सुनिन्छ । एजेन्ट मिश्रले पनि परियोजना जतिको बन्छ त्यसकै आधारमा प्रतिशत निर्धारण हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्