डोटीमा रहेको दुई वटा डोजरमा अज्ञात समूहको आगजनी


डोटी, ८ फागुन । अज्ञात समूहले डोटीको सायल र आदर्श गाउँपालिकामा रहेको डोजरमा आगजनी गरिएको छ ।

सायल गाउँपालिका–१ छपालीमा बाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका–३ काँडीस्याउलेमा रहेको आन्टीनेन्टल ट्रेडिङ इन्टरप्राइजेज काठमाडौँको बा १ क २१५९ नम्बरको डोजरमा बुधवार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताएका छन् ।

गाउँपालिकामा काटिएको शाखा बाटो मर्मत तथा सफा गर्ने क्रममा छपालीमा रहेको गाउँपालिकाको स्काभेटरमा मध्य राति आगजनी गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताएका छन् ।

एकै समयमा दुई वटा ठाउँमा आगजनी हुनुले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संलग्नता हुन सक्ने अनुमान गरिएको छ । प्रतिबन्धित नेकपाका डोटी इन्चार्ज तर्कराजले भने डोजरमा आगजनी गर्ने कार्यमा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका छन् । गाउँपालिका तथा प्रहरीको टोली घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले बताए ।

प्रतिक्रिया दिनुहोस्