धनुषामा पाँच छोरीले पिताको पार्थिव शरीर बोकेर घाट पुर्‍याए : श्रीमतीले दिए दागबत्ती


जनकपुरधाम ,७ फागुन । मङ्गलवार धनुषाको सबैलाई नगरपालिका वडा नम्बर २ निवासी रामनारायण यादवको पार्थिव शरीरलाई ६२ बर्षीया पत्नी राधिकादेवीले दागबत्ती दिएकी छिन् ।

दाहसंस्कारमा पाँच छोरीले आफैँ घरदेखि पाँच किलोमिटरको दुरीमा रहेको कमला खोला छेउसम्मै पिताको पार्थिव शरीर बोकेर पुर्‍याए ।

सबैको विवाह भइसकेको छ । जेठी छोरी ४० बर्षीया नेपुर यादव, माइली छोरी ३७ बर्षीया राजदेवी यादव, साँहिली ३५ बर्षीया प्रमीला यादव, काइँली ३२ बर्षीया अनिता यादव र कान्छी ३० बर्षीया गोरकी यादवले पिताको शव आफैँ बोके ।

रामनारायणलाई श्रद्धाञ्जली दिन गएका काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आनन्दप्रसाद ढुंगानाले पहाडतिरका महिलाहरू क्रियाकर्ममा बसेको देखिए पनि पार्थिव शरीरलाई काँधमै बोकेर पाँच किलोमिटरसम्म पुर्‍याएको पहिलो पटक आफूले देखेको बताए ।

उनले भने मृत्युको यो घटना आफैँमा दुःख त हो नै, तर, महिला सशक्तीकरणको एउटा दरिलो उदाहरण पनि बन्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्