अमेरिका पठाउने भन्दै ६० लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ


काठमाडौँ ,५ फागुन । अमेरिका जानको लागि बैङ्क ब्यालेन्स देखाउनु पर्ने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ पयुँपाटा घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेको देउराली गाउँपालिका चौउरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् ।

नुवाकोटको शिवपुरी गाउँपालिका–३ घर भई हाल काठमाडौँको तार्केश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीय कीसानुमाया लामालाई अमेरिका पठाइदिने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाए ।

अमेरिका जानको लागि बैङ्क ब्यालेन्स देखाउनु पर्ने भन्दै कीसानुमायालाई रामचन्द्र कुँवरले प्राइम बैङ्कमा रहेको आफ्नो खातामा ६० लाख रुपैयाँ ब्यालेन्स गर्न लगाएका थिए ।

कीसानुमायाले ६० लाख रुपैयाँ खातामा राखिदिएको भोलिपल्टै कुँवरले नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमति पत्र राखी चाबहिल, नयाँबानेश्वर, कोटेश्वर, सामाखुसी र इमाडोलमा रहेको प्राइम बैङ्कको शाखाबाट रकम निकालेर सम्पर्कविहीन भएका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा कुँवर र लामाले अन्य तीन जनाबाट ७० लाख रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पीडित भनिएकी कीसानुमायाले दिएको जाहेरीको आधारमा दुवै जनालाई भक्तपुरको थिमीबाट सोमबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्