पूर्व सभामुख कृष्णबहादुर महरा बलात्कार मुद्दामा निर्दोष ठहर


काठमाडौँ , ५ फागुन । पूर्व सभामुख कृष्णबहादुर महरा बलात्कार मुद्दामा निर्दोष ठहर भएका छन् । काठमाडौँ जिल्ला अदालतले महरालाई बलात्कार मुद्दामा सफाइ दिएको हो।

बलात्कार प्रयास मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका निवर्तमान सभामुख महरालाई रिहाइको प्रक्रिया पूरा गर्न डिल्लीबजार कारागारतर्फ लगिएको छ । महरालाई सोमबार जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलासले निर्दोष ठहर गरेको हो । महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए ।

महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गरेका थिए । तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टिभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकाल्यो ।

लगतै महराले सभामुख पदबाट राजीनामा दिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएनन् । उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको नयाँ भिडियो सार्वजनिक भयो, जसमा उनले बोली फेर्दै महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् ।

नेकपा कार्यकर्ताहरूले डिल्लीबजार कारागार बाहिर महरालाई स्वागतको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्