तीन दिने औपचारिक भ्रमणमा परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौँ ,५ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने औपचारिक भ्रमणमा सोमबार बिहान बंगलादेशको ढाकातर्फ प्रस्थान गरेका छन् ।

बंगलादेशको विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र उक्त मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रवीण अर्याल सहभागी छन् ।

दुई देशबिच देशका परराष्ट्रमन्त्रीले आपसी सम्बन्धका साथै साझा चासोका ऊर्जा, व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पर्यटन, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवर्द्धनमा केन्द्रित रहेर विचार आदानप्रदान गर्नुहुने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले बताए ।

भूगोलका हिसाबले हामी धेरै नजिक छौँ । आर्थिक साझेदारी जल, सडक, रेल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, पर्यटन, लगानी प्रवर्द्धनलगायत पारस्परिक हित र चासोका विषयमा बंगलादेशी समकक्षीसँग वार्ता हुने बताए ।

त्रिभुवन विमानस्थलमा मन्त्री ज्ञवालीलाई परराष्ट्र मन्त्रालयका निमित्त सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी र यहाँ स्थित बंगलादेशी राजदूतावासका वरिष्ठ अधिकारीले बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्