तेस्रो मुलुकबाट आएका मुस्लिम समुदायलाई फर्काउने सर्तमा धार्मिक सभाको अनुमति


सप्तरी ,२ फागुन । सप्तरीको बोदेबर्साइन नगरपालिकामा धार्मिक सभा सञ्चालन गर्न सरकारले अनुमति दिएको छ ।

नेपाल र भारतबाहेक तेस्रो मुलुकबाट आएका मुस्लिम समुदायलाई फर्काउने सर्तमा धार्मिक सभा सञ्चालनको अनुमति पाएसँगै मुस्लिम समुदायले सभाको तयारी तीव्र पारेका छन् ।

सभा यही फागुन ३ गते शनिवारदेखि सुरु हुँदै छ ।गृह मन्त्रालयले नेपाल र भारतका धर्माम्बलीलाई मात्रै सहभागी गराउने भनिए पनि तेस्रो मुलुकहरूबाट पनि बोलाइएको भन्दै बिहीबार सभा सञ्चालनमा रोक लगाएको थियो । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गृह मन्त्रालयले सभा सञ्चालनको अनुमति दिएको छ ।

सभामा नेपाल र भारतबाट मात्रै मुस्लिम धर्मका अगुवालाई बोलाउने भनिए पनि पाकिस्तान, दुबई, कतारलगायतका देशहरूबाट समेत बोलाइएपछि सुरक्षाको कारण देखाउँदै सभालाई रोक्न गृह मन्त्रालयले सर्कुलर गरेको थियो ।

‘तेस्रो मुलुकबाट आएकाहरूलाई फर्काउने सर्तमा हामीले सभा सञ्चालन गर्न भनेका छौँ,’ सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईँले भने, ‘अन्य देशबाट आउनेहरूलाई आयोजकले नै फिर्ता पठाउन थालेका बताए ।

प्रतिक्रिया दिनुहोस्