काठमाडौँ, १ फागुन । केन्द्रीय कार्यालयमा आयोजित ‘जनयुद्ध’ दिवसको कार्यक्रममा प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् ।
धुम्बाराहीमा जनयुद्ध र जनआन्दोलनका शहीदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओली आउने सूचना पार्टी कार्यालयबाट जारी भए पनि बिहीबार प्रधानमन्त्री अनुपस्थित भएका छन् । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेललगायत नेताहरू सहभागी भएका छन् ।
माघ २७ गते केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले सूचना निकालेर प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको उपस्थितिमा जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा गर्ने उल्लेख गरिएको थियो ।