काठमाडौँ, २९ माघ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
व्यक्तिको नाममा सरकारी जग्गा नाम सार्ने निर्णय गर्ने मन्त्रिपरिषद्का प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दर्ता गराएका हुन् । मन्त्रिपरिषद् गरेका सबै निर्णय नीतिगत हुने आफ्नो क्षेत्राधिकारमा नपर्ने व्याख्या अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गलत भएको उनले बताएका छन् ।
तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा ललिता निवास सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई जग्गा फिर्ता गरेको नाउमा उन्मुक्ति दिनु नहुने रिटमा उल्लेख गर्दै वरिष्ठ अधिवक्ता न्यौपानेले उनीहरू विरुद्ध मुद्दा चलाउन माग गरेका छन् ।