यु १९ विश्वकपको उपाधि बंगलादेशलाई : चार पटकको च्याम्पियन भारत पराजित


काठमाडौँ, २७ माघ । चार पटकको च्याम्पियन भारतलाई पराजित गर्दै यु १९ विश्वकप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले पहिलो पटक दक्षिण अफ्रिकामा भएको आइसीसी यु १९ विश्वकप २०२० जितेको हो ।

नयाँ च्याम्पियन बनेका बंगलादेशले भारतलाई डकवर्थ लेविस (डिएल) मेथ ८ को आधारमा ३ विकेटले पराजित गरेको हो । खेलको क्रममा वर्षाको कारण केहीबेर रोकिएको थियो ।

बंगलादेशलाई भारतले १७८ रनको लक्ष्य दिएको थियो । बंगलादेशले ४१ ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएसँगै वर्षाको कारण खेललाई केहीबेर रोकिएको थियो ।
बंगलादेशले सोही कारण डिएल मेथडमा जितको लागि ४६ ओभरमा १ सय ७० रन बनाउनु थियो । बंगलादेशले ४२.१ ओभरमै ७ विकेट गुमाएर भेट्टाउँदै उपाधि हात पारेको छ ।

बंगलादेशको जितमा कप्तान तथा विकेटकिपर अकवर अलीले अविजित ४३ रनको कप्तानी इनिङ्स खेले । उनले ७७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । ओपनर परवेज हुसेन इमोनले ७९ बलमा ७ चौकाको मद्दतमा ४७ रन बनाए ।

भारतका स्पिनर रवि बिस्नोईले १० ओभरमा ३ मेडन राखेर ३० रन खर्चिँदै ४ विकेट लिए । यस्तै सुशान्त मिश्राले २ र यजस्वी जैसवालले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४७.२ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनाएको थियो । भारतका लागि ओपनर यजस्वी जैसवालले सर्वाधिक ८८ रन बनाए । उनले १२१ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे । यस्तै तिलक बर्माले ३८ र धुब्र जुरेलले २२ रन बनाए । बाँकी खेलाडीले दोहोरो अङ्क छुन सकेनन् । भारतले अन्तिम २१ रन जोड्दा ७ विकेट गुमाएको थियो ।

भारती इनिङ्स ध्वस्त पार्न बंगलादेशका लागि अभिषेक दासले ९ ओभरमा ४० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै शोरिफुल इस्लाम र तन्जिन हसन शकिबले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्