फोन गर्दा नउठाएको रिसमा प्रेमिकाको हत्या : आरोपी साह पक्राउ


मोरङ, २६ माघ । फोन गर्दा नउठाएको रिसमा प्रेमिकाको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको दुहबी नगरपालिका–६ बस्ने ३२ वर्षीय सम्झना खत्री परियारलाई हत्या गरेको आरोपमा २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो ।

माघ २४ गते बिहान विराटनगर महानगरपालिका–१२ मा रहेको उखुबारीमा परियारको घाँटी काटिएको र घाँटीमा सलले बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो ।

सनाखतका लागि उक्त महिलाको फोटो जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज, प्रहरी सञ्चार, टेलिभिजन, एफएमलगायतका सञ्चार माध्यमबाट हुलिया परिपत्र गरेपश्चात् शव वसन्त परियारकी श्रीमती सम्झना खत्री परियारको रहेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरी अनुसन्धानको क्रममा सप्तरी जिल्ला कृष्णश्रवण गाउँपालिका–३ मट्टीगढा घर भई हाल बुढिगंगा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने क्वालिटी नुडल्स कारखानामा स्टोर इन्चार्जको रूपमा कार्यरत सुरेन्द्रप्रसाद साह र मृतक सम्झना खत्री परियारवीच विगत ३ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको खुलेको थियो । त्यसैको आधारमा प्रहरी ले साहलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार माघ २१ गते मङ्गलवार बिहान १० बजेदेखि मृतक परियार साहको सम्पर्कमा नरहेकाले उनले पटक–पटक फोन गरेका थिए । परियारले फोन नउठाएपछि साह उनकै घरमा भेट्न पुगेका थिए । तर, घरमा कोही फेला नपरेपछि उनी पुनः फ्याक्ट्री फर्किएका थिए ।

अपराह्न चार बजे साह पुनः परियारलाई खोज्न वरपरको क्षेत्रमा डुलिरहँदा बाँसबारी चोक अगाडि भेटेपछि उनलाई मोटरसाइकलमा चढाएर विराटनगर महानगरपालिका–१२ पुर्‍याएका थिए ।

त्यहाँ गफ गर्ने क्रममा दुई जनाबिच वादविवाद भएपछि रिसको आवेगमा साहले परियारको सल घाँटीमा बेरेर तान्दै उखुबारीमा र्पुयाएर धारिलो बाँसलाई हतियारको रूपमा प्रयोग गरी घाटी रेटेर हत्या गरेको प्रहरीको भनाइ छ ।

साहले आफूले नै परियारको हत्या गरेको प्रहरी समक्ष स्विकारी सकेका छन् । प्रहरीले मृतक सम्झना खत्री परियारलाई घटनास्थल सम्म बोकेर लगेको मोटरसाइकल र दुई वटा मोबाइल पनि बरामद गरेको छ । विवाहइतर सम्बन्धमा रहेका कारण परियारको ज्यानै गएको छ । पछिल्लो समय विवाहइतर सम्बन्धका कारण धेरैको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्