प्रहरीले बम्जनलाई देशभर खोजी गर्दै : पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर


काठमाडौँ, २६ माघ । सिन्धुलीस्थित आश्रम स्थलमा शनिवार पक्राउ गर्न गएको नेपाल प्रहरी प्रधान कार्यालयले ‘तपस्वी’ रामबहादुर बम्जन नभेटिए पछि ७७ वटै जिल्लामा खोजी कार्य गर्ने भएको छ । प्रहरीले पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर गरिएको छ ।

बाल यौन शोषणको आरोप लागेका बमजनविरुद्ध सर्लाही जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि त्यहाँको जिल्ला अदालतले गत बिहीबार उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । त्यही दिनदेखि प्रहरीले बमजनको व्यापक खोजी गरिरहेको भए पनि अहिलेसम्म पत्ता लाग्न नसकेको सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले जानकारी दिएका छन् ।

‘प्रहरीले देशभर नै उनको व्यापक खोजी गरिरहेको छ तर, अहिलेसम्म पत्ता लगाउन सकिएको छैन,’ एसपी पोखरेलले भने, ‘उनको खोजीका लागि ७७ वटै जिल्लामा प्रहरी सक्रिय भएको छ ।’

‘तपस्वी’ बमजन सिन्धुलीमा रहेको सूचना पाएर सिन्धुली जिल्ला प्रहरी कार्यालयको टोली गत शुक्रवार बिहानै सिन्धुलीको कमलामाई नगरपालिका–८ बेसारे भन्ने ठाउँमा रहेको उनको आश्रममा पुगेको थियो । तर प्रहरी पुग्दा उनी त्यहाँ भेटिएनन् ।

सोधपुछका लागि त्यहाँ रहेका एक जना गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर सोधपुछपछि त्यही दिन उनलाई छाडिएको सिन्धुली जिल्ला प्रहरी कार्यालयकी एसपी रञ्जु सिग्देलले जानकारी दिएकी छन् ।

‘अब उनी यहाँ (सिन्धुली) मात्र छन् भन्ने ग्यारेन्टी भएन,’ एसपी सिग्देल भन्छिन्, ‘एरिया ठुलो छ, हुन पनि सक्छन्, खोजी जारी छ ।’ सर्लाहीका एसपी पोखरेलका अनुसार सिन्धुलीमा उनी नभेट्टिएपछि अहिले सर्लाही, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ लगायत सम्भावित स्थानमा उनको खोजी भइरहेको छ ।

केही समयअघि बमजन बसेको सर्लाहीको चुरेभेगस्थित लालबन्दी नगरपालिका–१२, पत्थरकोटमा रहेको आश्रममा पनि उनलाई खोज्दै शुक्रवार दिउँसो प्रहरी पुगेको थियो तर त्यहाँ पनि उनी नभेटिएको सर्लाही प्रहरीले जनाएको छ ।

सर्लाहीका एक जना पीडितले बाल यौन शोषण गरेको आरोपमा बमजनविरुद्ध सर्लाही जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेको त्यहाँका एसपी पोखरेलले जानकारी दिएका छन् । तर गोप्यताका लागि उनको हुलिया समेत गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्