बम्जनलाई पक्राउ गर्न प्रहरी आश्रम पुगे


सिन्धुली, २४ माघ । प्रहरीले रामबहादुर बम्जनलाई पक्राउ गर्न सिन्धुलीस्थित आश्रम पुगेका छन् । आश्रमबाट प्रहरीले विवादमा धेरै पटक मुछिएका तपस्वी बम्जनको सहयोगीलाई नियन्त्रणमा लिएको छ ।

‘आश्रममा रामबहादुर वम्जन भेटिएनन् । उनका निकटका सहयोगी भनेर चिनिने ज्ञानकुमार भोम्जन ‘तोप्तेन’ लाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ’, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रञ्जु सिग्देलले जानकारी दिएकी छन् ।

शुक्रवार बिहान तपस्वी रामबहादुर वम्जनलाई पक्राउ गर्न गएको प्रहरी टोली रित्तो हात फर्किएको छ । अदालतको आदेश कार्यान्वयनका लागि बम्जनलाई नियन्त्रणमा लिन आश्रममा पुगेको प्रहरी टोलीले उनी नभेट्टाएपछि उनका सहयोगीलाई नियन्त्रणमा लिएर फर्किएको हो ।

सर्लाही जिल्ला अदालतले यौन शोषणको मुद्दामा वम्जनलाई नियन्त्रणमा लिन आदेश दिएको थियो । अदालतले बिहीबार आदेश जारी गरेपछि शुक्रवार बिहानै सिन्धुलीस्थित वम्जनको आश्रममा पुगेको थियो ।

बम्जनमाथि अनुयायीको हत्या, बलात्कार र बेपत्ता पारेको आरोप छ । सिन्धुलीको कमलामाई नगरपालिपालिका–८, पहिरेमा रहेको उनको आश्रममा प्रहरी पुगे पनि नभेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्