नेपाली काँग्रेस उपसभापति गच्छदारविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता


काठमाडौँ, २३ माघ । नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेका छन् ।

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको भन्दै आफ्ना उपसभापति गच्छदारविरूद्ध मुद्दा हालेपछि काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आकस्मिक छलफल भएको छ ।

उपसभापतिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि चिन्तामा परेको काँग्रेसले मुद्दाको विषयमा कानुन व्यवसायीहरूसँग छलफल गरेको छ । सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा काँग्रेस पदाधिकारीहरूले बालुवाटार जग्गा प्रकरणमा अख्तियारको अभियोग पत्र कस्तो हो भन्नेबारे कानुन व्यवसायीहरूसँग अहिले परामर्श गरेका हुन् ।

छलफलमा काँग्रेस नेताहरूले प्रस्ताव लैजाने मुख्यसचिवलाई मुद्दा चलाएन र निर्णय गर्ने प्रधानमन्त्रीलाई पनि मुद्दा लगिएन विभागीय मन्त्रीलाई मात्र लग्यो यसरी छानीछानी मुद्दा लगाइएको छ ? यो के हो ? भनेर कानुन व्यवसायीहरूसँग सोधेको स्रोतले जानकारी दिएका छन् । जवाफमा वकिलहरूले ‘यो राजनीतिक मुद्दा पनि भएको हुनाले के भन्ने तपाईँहरू भन्नुहोस्, हामी कानुनी हिसाबले लड्छौँ’ भन्ने जवाफ फर्काएको जनाइएको छ ।

छलफलमा वकिलहरू प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी, सीताराम केसी, योगेन्द्र अधिकारी, लीलामणि पौडेल र एकराज पोखरेल सहभागी थिए ।
सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पुष्पा भुसाल र ज्ञानेन्द्र कार्की छलफलमा उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्