रेस्टुरेन्टमा नेकपाका एक नेताको शंकास्पद मृत्यु


काठमाडौँ, २३ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एक नेता काठमाडौँको बानेश्वरस्थित एक क्याफेमा शंकास्पद रूपमा मृत फेला परेका छन् ।

काभ्रे घर भएका नेकपाका नेता ५१ वर्षीय हरिदेव गिरीको काठमाडौँको नयाँबानेश्वरस्थित आलोकनगर डी क्याफे एन्ड किचन रेस्टुरेन्टमा मृत भेटिएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

मङ्गलवार राति १० बजे रेस्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएका गिरीलाई उपचारका लागि प्रहरीले राति १० बजे नजिकै रहेको सिभिल अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेका प्रहरी वृत्त बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले बताएको छ ।

गिरी काभ्रेको बनेपास्थित नाला निवासी हुन् । अनुसन्धानका लागि रेस्टुरेन्टका चार जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताएको छ ।

नियन्त्रणमा लिइएकामध्ये दुई जनालाई प्रहरीको सम्पर्कमा रहने गरी छाडिएको र बाँकी दुई नियन्त्रणमै रहेका बोगटीले बताएका छन् । गिरीले मदिरा समेत सेवन गरेको पाइएको छ ।

‘उहाँको मृत्युको कारण खुलेको छैन,’ बोगटीले भने, ‘र्भयाङमा लडेको अवस्थामा भेटेका हौँ, एउटा खुट्टा पनि भाँचिएको छ । घटनाको विस्तृत अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्