ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नमाथि मुद्दा दायर गर्ने तयारी


काठमाडौँ, २२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नमाथि मुद्दा दायर गर्ने तयारी गरेको छ । आयोगको टोली उक्त मुद्दा दर्ता गर्न बुधवार विशेष अदालत पुगेको छ ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जग्गा प्रकरणमा संलग्नविरुद्धको मुद्दा लिएर आयोगको टोली अदालत आइपुगेको जानकारी दिएका छन् । आयोगको टोली मुद्दा दर्ताका लागि आएको र रुजुको काम भइरहेको पाण्डेले बताएका छन् । जग्गा अनियमितताबारे बाहिर आएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि अनुसन्धान गरी प्रतिवेदन केही दिनअघि मात्रै बुझाएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको भन्दै नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार र अख्तियारकै पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरूद्ध भ्रष्टाचार मुद्दा चलाउने भएको छ ।

अख्तियार स्रोतका अनुसार मुद्दा दर्ता गर्न कर्मचारीहरू विशेष अदालत गएका छन् । यी दुई जनासहित झन्डै दुई सय जना व्यक्तिविरूद्ध मुद्दा चलाउने निर्णय भएको स्रोतले जानकारी दिएको छ । ‘मुद्दा चलाउने निर्णय भएर हाम्रा कर्मचारीहरू अख्तियार पुगेका छन्,’ स्रोतले भन्यो, ‘१७० भन्दा बढीलाई प्रतिवादी बनाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्