वडाध्यक्ष धामी हत्याबारे देखि सिआइबी र कुकुरसहितको टोलीको अनुसन्धान सुरु


अछाम, २२ माघ । पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी हत्याबारे देखि सिआइबी र कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको छ ।

मङ्गलवार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान सुरु गरिएकामा आज बिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित घटनास्थल र एक–दुई किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता, प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताएका छन् ।

घटनास्थलमा काठमाडौँदेखि आएका सिआइबीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमान्डमा तीन र धनगढीबाट एउटा कुकुरसहित प्रहरी निरीक्षक दीपक पातलीको कमान्डमा छ जना प्रहरी परिचालन भएका छन् भने अछाम प्रहरीको सम्पूर्ण संयन्त्र परिचालन भएको प्रवक्ता अवस्थीले जनाएका छन् ।

यस्तै अछामका प्रजिअ भोजराज श्रेष्ठ र प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीले समेत अनुसन्धानको नेतृत्व गरिरहेको बताइएको छ । मृतक वडाध्यक्ष धामीसँगै सोमबार राति ८–९ बजेसम्म सँगै रहेका सात जनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको र सोधपुछ भइरहेको अवस्थीको भनाइ रहेको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै आज बिहानदेखि विनायक बजार बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्