प्रतिनिधिसभाको बैठकमा विधेयकसँग सम्बन्धित प्रतिवेदन पेस हुने


काठमाडौँ, २१ माघ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र विधेयकसँग सम्बन्धित प्रतिवेदनहरू पेस हुने सम्भावित कार्यसूची रहेको छ ।

विधेयकसँग सम्बन्धित प्रतिवेदनहरूमा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीमा रहेको सङ्घीय संसद्को निमित्त महासचिव गोपालनाथ योगीले जानकारी दिएका छन् ।

यस्तै शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले चार वटा विधेयक पेस गर्ने तयारी पनि छ । संसद् सचिवालयका अनुसार सार्वजनिक ऋण व्यवस्थापन विधेयक, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक, नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक र धितो पत्रसम्बन्धी पहिलो संशोधन विधेयक अर्थमन्त्री खतिवडाले पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्