नेकपाको केन्द्रीय कमिटी बैठक चार दिनपछि सकिँदै


काठमाडौँ, १९ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक चार दिनपछि आज सकिँदै छ । बैठकको अन्तिम दिन अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरूका प्रश्नको जवाफ दिएपछि सकिने छन् ।

बैठक उद्घाटनमा लामो मन्तव्य दिएपछि छलफलहरूमा सहभागी नभएका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले समापनका अवसरमा केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् । दस्ताबेजमाथिको जवाफ भने प्रस्तोता अध्यक्षबाटै दिइने थापा बताएका छन् ।

१५ वटा विभिन्न समूहबाट राजनीतिक प्रतिवेदन तथा सङ्गठनात्मक प्रतिवेदनका साथै विधान संशोधन प्रस्तावमाथि आएका सुझाव र प्रश्नहरूबारे प्रचण्ड र विष्णु पौडेलले विस्तृतमा जवाफ दिनेछन् । केन्द्रीय कमिटी बैठकले विभिन्न प्रस्तावहरू पारित गर्नेछ ।

अध्यक्ष प्रचण्ड बैठकअघि केन्द्रीय कमिटीमा उठेका प्रश्नबारेमा छलफल गर्न बालुवाटार पुगेका छन् । दुवै अध्यक्षबिच छलफलपछि समान धारणा लैजाने प्रयास भइरहेको नेकपा स्रोतले जानकारी दिएको छ ।

बैठकमा एमसीसीका सन्दर्भमा विज्ञ सम्मिलित कार्यदल गठन गरेर एकमतले पारित गर्नुपर्ने सुझाव केन्द्रीय कमिटी बैठकमा आएको छ । यसबारे पनि छलफल हुने जनाइएको छ । अब कार्यदल गठन गर्ने समय नरहेकाले मुख्य नेताहरूबिचको छलफलबाट यसलाई टुंगो लगाइने सम्भावना रहेको स्रोतबाट खोलिएको छ ।

प्रतिक्रिया दिनुहोस्