वीरगन्जको मुक्तिनाथ विकास बैंकमा आगलागी


पर्सा, १८ माघ । वीरगन्ज–८ लिङ्गरोडस्थित नगर विकास समितिको भवनमा रहेको मुक्तिनाथ विकास बैङ्कको शाखा कार्यालयमा गए राति ११ बजेतिर आगलागी भएको छ ।

आगलागीबाट बैंकभित्र रहेको एक दर्जन कम्प्युटर, प्रिन्टर ३ थान, २ सेट सोफा, ४ थान एसी, फर्निचरलगायतका समान र कागजपत्र जलेर नष्ट भएको शाखा कार्यालयका म्यानेजर अशोक राजभण्डारीले बताएका छन् । उनका अनुसार महत्त्वपूर्ण कागजात र रकम भने सुरक्षित रहेको छ ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले १५ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको र यकिन विवरण सङ्कलन भइरहेको जानकारी दिए । सुरक्षा गार्डले बैंकभित्र आगो लागेको देखेपछि प्रहरीलाई जानकारी गराएको थियो ।

विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । वीरगन्ज महानगरपालिकाको दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीय मिलेर आगो समयमै नियन्त्रणमा लिएकाले थप क्षति हुनबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्