चितवनमा भूमिगत लाइनमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध


चितवन ,१६ माघ । चितवनको राष्ट्रिय निकुञ्ज क्षेत्रमा बिछ्याइएको भूमिगत लाइनमा समस्या आएपछि माडी नगरपालिका क्षेत्रमा गएरातिदेखि फेरि विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् लाइन सप्लाइमा अवरोध भएको ठाउँको पहिचान र मर्मतका लागि टोली खटिएको चनौली सबस्टेशनका प्रमुख शिशिर पौडेलले बताएका छन् ।

प्रमुख पौडेलले भने, ‘फल्ट लोकेसन गर्ने मेसिन लिएर जङ्गल जाँदै छौँ, निकुञ्ज, सेनालगायत सबैको सहमति लिएर काम गर्नुपर्ने हुन्छ ।’माडीमा विद्युत् लैजान चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युत् लाइन भूमिगत गरिएको छ । त्यसको सात ठाउँमा ज्वाइन्टहरू छन् । ती ठाउँहरूमा नै पटक(पटक समस्या आउने गरेको छ । पटक(पटक विद्युत् अवरुद्ध हुँदा माडीका जनताका साथै प्राधिकरणका कर्मचारीहरूले समेत सास्ती भोग्दै आएका छन् ।

उनले भने समस्या पत्ता लागेमा तीन घण्टामा नै विद्युत् सप्लाई गर्न सकिने र सोनामिटरको सहायता तथा उच्च भोल्ट पठाएर समेत समस्या पत्ता लगाउन सकिन्छ ।
भूमिगत लाइन बिछ्याउँदा नै त्रुटि भएका कारण पटक पटक विद्युत् सेवा अवरुद्ध हुने गरेको प्राधिकरणका कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्