३२ किलो गाँजासहित तीन जना पक्राउ


हेटौडा ,१५ माघ । हेटौडा–११, थाना मा कारलाई रोक्न खोज्दा मकवानपुर प्रहरीले गोली प्रहार गरी ३२ किलो गाँजासहित तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मुजफ्फरपुरका अजयमल हवारी, सञ्जीव पासवान र जाहेरा खातुन रहेका छन् । कारबाट ३२ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
मङ्गलवार राति भारतीय नम्बर प्लेटको बीआर ०६जी ४४५७ नम्बरको कारलाई रोक्न खोज्दा भैरबडाँडातर्फ भागेपछि प्रहरीले कारको टायरमा गोली हानी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

मकवानपुरको मनहरीबाट लागूऔषध गाँजा बोकेर आएको सो कारलाई हेटौडा–१९ स्थित इलाका प्रहरी कार्यालय नेवारपानी र लेवर्ट प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरू भागेर आएका थिए । वडा प्रहरी कार्यालय हेटौडाको टोलीले थाना मा नियन्त्रणमा लिन खोज्दा भागेपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको मकवानपुर प्रहरी उपरीक्षक सुशील सिंह राठौरले बताएका छन् ।

राठौरका अनुसार तस्करीमा संलग्नहरूले एक महिलालाई बिरामी बनाएर कारको पछाडि सिटमा राखी एक जना बिरामी कुरुवा बनेर लागूऔषध गाँजा तस्करी गरिरहेका थिए ।

गाँजा तस्करीमा संलग्नहरूलाई नियन्त्रणमा लिएर फर्कने क्रममा वडा प्रहरी कार्यालयको प्रहरी भ्यानलाई बसले ठक्कर दिँदा प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीसहित पाँच जना प्रहरी घाइते भएका छन् । काँकडभिट्टाबाट धनगढीतर्फ जाँदै गरेको ना. ५ ख ५५८२ नम्बरको बसले प्रहरी भ्यानलाई ठक्कर दिँदा प्रहरी निरीक्षक भण्डारीको टाउकोमा चोट लागेको छ भने अन्य प्रहरी सामान्य घाइते भएका छन् । यस्तै गाँजा तस्करीमा संलग्न खातुन समेत घाइते भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्