बोलेरो र मोटरसाइकल ठोकिँदा एक दम्पतीको ज्यान गयो


धनुषा, १५ माघ ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ गोदारमा बुधवार दिउँसो बोलेरो र मोटरसाइकल ठोकिँदा एक दम्पतीको ज्यान गएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स १ च १८५८ नम्बरको बोलेरो र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले बताएको छ ।

दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका–६ बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीया प्रमीला साहको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताएका छन् ।

दुर्घटनामा मोटरसाइकलमै सवार साहका नौ वर्षीय छोरा जोन साह बचेका छन् । उनी सामान्य घाइते भएका छन् ।

शव पोस्टमार्टमका लागि जनकपुर स्थित प्रादेशिक अस्पतालमा ल्याइएको र ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्