काठमाडौँ, १३ माघ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को तदर्थ समिति घोषणा अघि हुनुभन्दा अगाडि नै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ ।
नेपाली काँग्रेसको पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले उमेरको हदबन्दी तोकिनुपर्ने माग राख्दै पार्टी कार्यालयमा अनसनमा बसेपछि देउवा समूहले हातपात गरेको हो ।
नेविसंघमा अहिले नै ३२ वर्ष उमेर हद लागू गर्नुपर्ने र लागू गर्न नहुने पक्षबिच विवाद चलिरहेको छ । काफ्ले समूहबाट पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी अनसनमा बसेका छन् । विधान लागू गर्न माग गर्दै महिना दिनदेखि रिले अनसन पनि जारी छ ।
शुक्रवार नेपाली काँग्रेसका नेताहरूबिच नेविसंघमा १२७ जनाको तदर्थ समिति हुने सहमति भएको थियो । नेविसंघको अध्यक्षमा विद्यार्थी नेता राजीव ढुंगानाको नाममा सहमति भएको छ । त्यसै गरी अन्य नामहरूको टुङ्गो भने आ–आफ्नो समूहमा छलफल गरी सोमबार बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।
समितिमा अध्यक्षसहित दुई उपाध्यक्ष, तीन महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्षसहित ४९ जना काँग्रेस सभापति शेरबहादुर देउवा निकट रहने छन् । त्यसै गरी दुई उपाध्यक्ष, दुई महामन्त्री र दुई सहमहामन्त्री वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहनेछन् । सहमति अनुसार दुई उपाध्यक्ष, दुई महामन्त्री र दुई सहमहामन्त्री अर्का नेता कृष्ण प्रसाद सिटौला निकट रहने सहमति भएको छ । त्यस्तै एक महामन्त्री काँग्रेस उपसभापति विजयकुमार गच्छदार निकटलाई दिइने भएको छ ।