प्रदेश–२ को राजधानी टुङ्गो लाग्दै : जनकपुरधाम हुने निश्चित


जनकपुरधाम, १३ माघ । प्रदेश–२ को नामकरण र राजधानी टुङ्गो लगाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिले जनकपुरधामनै हुने लगभग निश्चित भएको छ ।

संसदीय विशेष समितिमा राजधानीको विषयमा सहमति भएपछि जनकपुरधाम नै राजधानी हुने लगभग पक्का भएको हो ।अहिलेको अस्थायी राजधानी जनकपुरधामलाई नै स्थायी कायम गर्ने निर्णयमा सर्वसम्मति भएको समितिका संयोजक समेत रहेका सभामुख सरोजकुमार यादवले बताएका छन् । उनका अनुसार समितिले प्रदेश राजधानीको सीमा समेत टुङ्गो लगाएको छ ।

समितिमा उपसभामुख उपमा देव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, प्रदेशसभा सदस्य रामकुमार यादव, नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव र प्रदेशसभा सदस्य नरेश यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव र संसदीय दलका उपनेता रामआशिष यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र प्रदेशसभा सदस्य रानी शर्मा तिवारी तथा नेपाल सङ्घीय समाजवादीकी प्रदेशसभा सदस्य सावित्रीदेवी साह सदस्य छन् ।

प्रदेशको राजधानी र नाम सम्बन्धमा प्रदेश सभामा भदौ ५ गते राजनीतिक दलहरूले प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव दर्ता भएपछि प्रदेश सभाको बैठकबाट नै सभामुख यादवको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्