शिक्षा सन्देश स्कुलले दुईदिने बालसाहित्य महोत्सव गर्दै


बेलबारी, १२ माघ ।  बेलबारी -२, लालभित्तीमा रहेको शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानद्वारा सञ्चालित शिक्षा सन्देश ईङिलस स्कुलले सरस्वती पूजा २०७६ को अवसर पारेर दुईदिने बालसाहित्य महोत्सवको आयोजना गर्ने भएको छ। आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले सो जानकारी गराएका हुन ।

माघ १५ र १६ गते आयोजना हुने महोत्सवमा कविता वाचन, कथा लेखन, वादविवाद, अन्तरक्रिया, साहित्य सम्बन्धी विभिन्न दृश्य प्रदर्शनी, नाटक प्रदर्शन, चित्रकला, बालबालिकाले तयार पारेका विभिन्न सामाग्रीहरूको प्रदर्शनी, विद्यार्थीले तयार पारेका खानेकुराको प्रदर्शनी, चर्चित साहित्यकारहरू सँग विद्यार्थीको प्रत्यक्ष भलाकुसारी लगायतका विविध कार्यक्रम रहनेछन् ।

विद्यार्थी र अभिभावहरु प्रायजसो गायन र नृत्यमा मात्र चासो राख्ने र त्यही विधामा निपूर्ण भएमात्र अभिभावकहरू पनि खुसी हुने प्रचलन जस्तै बनेको अवस्थामा बिद्यार्थीहरुको सर्बाङिगण विकासमा बाल साहित्य महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विद्यालयका प्रिन्सिपल राजेश खत्रीले बताए ।

नाफामूलक भन्दा पनि सामाजिक मूल्य र मान्यतामा आधारित रहेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले छात्रवृत्तिमा मात्र वार्षिक ३ देखि ४ लाख खर्च गरिरहेकोमा साहित्य महोत्सव मार्फत विद्यार्थी र अभिभावकहरूलाई यो क्षेत्रमार्फत पनि विद्यार्थीको रुचि जगाउनु र केही गर्न सकिन्छ भन्ने ध्येयका साथ कार्यक्रम आयोजना गर्न लागिएको शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानका अध्यक्ष लक्ष्मणजंग थापाले बताए ।

विद्यार्थीलाई किताबी ज्ञान मात्र भन्दा पनि हरेक कुरामा पोख्त बनाउनु र नयाँ नयाँ कुराहरू जानकारी गराउनु विद्यालयको दायित्व रहेको र सोही बमोजिम यस क्षेत्रमै पहिलो पटक विद्यार्थीहरूका लागी महोत्सव आयोजना गर्न लागिएको विद्यालयका काउन्सिलर भूपाल बस्नेतले बताए ।

बाल साहित्य महोत्सव विद्यालयमा मात्र नभएर यस क्षेत्रमै पहिलो पटक आयोजना गरिएका कारण केही चुनौती भए पनि यो कार्यक्रमले विद्यार्थी र अभिभावकहरूलाई थप ज्ञान प्रदान गर्ने र एउटा नयाँ सन्देश दिनेमा आफूहरू आसावादी रहेको पनि काउन्सिलर बस्नेत बताउँछन् ।

कार्यक्रममा बेलबारी नगर तथा आसपासका विभिन्न विद्यालयहरू अवलोकनका लागि सहभागी हुने र प्रतियोगितात्मक कार्यक्रममा भने आयोजक विद्यालयका बिद्यार्थीमात्र सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस्