रेडियो वेतनाको सातौँ साधारणसभा तथा वार्षिकोत्सव सम्पन्न


बेलबारी, १० माग / मोरङको बेलबारीमा अवस्थित सामुदायिक रेडियो वेतनाले सातौँ साधारणसभा तथा वार्षिकोत्सव सम्पन्न गरेको छ । संयन्त्र सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो वेतना ९७.१ मेगाहर्जले स्थापनाको ७ वर्ष पुरा भएको अवसरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी साधारणसभा तथा वार्षिकोत्सव सम्पन्न गरेको हो ।

राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालको प्रमुख आतिथ्यमा बेलबारी १ मा रहेको मदन मोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनको सभाहलमा कार्यक्रम भएको थियो । ७ संघसंस्था तथा व्यक्ति सम्मानित कार्यक्रममा समाजमा योगदान दिने ७ संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

बेलबारी ६ का मिलन राई, सामाजिक व्यक्तित्व महेन्द्र प्रसाद सुवेदी, सुन्दरहरैचा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश दाहाल सम्मानित भएका छन् भने सघंसंस्थामा ज्येष्ठ नागरिक समाज बेलबारी, बेलबारी नगरपालिकाको पहिलो जाती धिमाल, शान्ति भगवती माध्यमिक विद्यालय लेटाङ र बेलबारी नगरकार्यपालिका रहेका छन् ।

कार्यक्रमलाई गर्दै प्रमुख अतिथि राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले समाज विकासका लागि सामुदायिक रेडियोले खेल्ने भूमिका महत्त्वपूर्ण हुने बताइन । राजनैतिक दल, स्थानीय संघसंस्था सबै मिलेर रेडियोलाई मजबुत बनाउन सके मात्रै समाजभित्रका विभिन्न कुराहरूको प्रवर्धन हुने उनले बताइन ।

नेपाली काँग्रेस संसदीय दल प्रदेश न. १ प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य केदार कार्कीले रेडियोले विभिन्न सूचना मनोरञ्जन दिनुका साथै केहीलाई रोजगारीको समेत व्यवस्था गरेको बताए ।

कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सञ्चार क्षेत्रमा स्थानीय तहले पहिले देखिनै साझेदारी गरेको र भविष्यमा पनि त्यो थप गर्दै लैजाने बताएका छन् ।

रेडियो वेतना सञ्चालन समितिका अध्यक्ष भोजराज बस्नेतले विभिन्न जाति समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्ने र संस्कृति संरक्षण गर्ने कार्यलाई प्रसारण मार्फत ध्यान दिँदै आएको र भावी दिनमा पनि अझै बढी सहभागितामूलक बनाउने बताएका छन् ।

२०६९ सालमा स्थापना भएको रेडियोले दैनिक बिहान ५ बजेदेखि राति ११ बजेसम्म निरन्तर सूचना तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्