राष्ट्रियसभा सदस्य निर्वाचनमा समाजवादी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मिल्ने सहमति


विराटनगर ,८ माघ ।  राष्ट्रियसभा सदस्य निर्वाचनमा समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबिच मिलेर जाने सहमति भएको छ ।

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीका संसदीय दलको नेता जयराम यादव र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलको नेता विष्णु तुम्बाहाम्फेले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

विभिन्न आन्दोलनहरूबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न र बाँकी रहेका प्रादेशिक पहिचानको लागि १०ं१ र अधिकार लगायतका मागहरू समेत प्राप्तिका लागि निर्वाचनमा समेत दुई दल मिलेर जाने निर्णय भएको सहमति पत्रमा उल्लेख छ ।

प्रदेश सभा प्रदेश नम्बर १ मा समाजवादीका ३ र मञ्चका १ प्रदेश सभा सदस्य रहेको छ । प्रदेश नम्बर १ को लागि मोरङको विराटनगर महानगरपालिका स्थित वीरेन्द्र सभागृहलाई मतदान स्थल तोकेको छ । प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाताले विराटनगरमा मत हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्