डिलाशैनी गाउँपालिका कार्यालयमा अज्ञात समूहद्वारा आगजनी


बैतडी, ८ माघ ।  बैतडीको डिलाशैनी गाउँपालिका–३ को सम्पर्क कार्यालयको प्रशासन शाखामा अज्ञात समूहले आगजनी गरेको छ ।  गाउँपालिकाकोनै म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालले उक्त स्कारपियो गाउँपालिकालाई भाडामा दिएको थियो ।

यस्तै गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ । पालकै से १ च ४५९ नम्बरको जेसीबीमा पनि आगजनी गरिएको छ ।आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताएका छन् ।

बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे बुझ्न प्रहरी टोली पनि घटनास्थलतर्फ गएको छ ।

डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएकोले राज्य पुनर्स्थापना हुँदा गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नं ३ बाट हुँदै आएको छ । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयवासीको आरोप रहेको छ । भने गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत छ ।

प्रतिक्रिया दिनुहोस्