डिएसपी दिलीपको नेतृत्व टोलीद्वारा लागुऔषध र हतियारसहित पाँच जना पक्राउ


पथरी , ७ माघ । मोरङको कानेपोखरी गाउँपालिका–७ बाट लागुऔषध र हतियारसहित पाँच जनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । को २ ह ३९६८ नम्बरको टेम्पोमा रमाइलोबाट उत्तरतर्फ कानेपोखरी आउँदै गर्दा आइतबार राति १०ः३० बजे लुकाएर ल्याएको अवस्थामा डिएसपी दिलीप गिरी नेतृत्वको टोलीले लागुऔषध बरामद गरेको हो ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–८ का २० वर्षीय दिनेश विश्वकर्मा , २० वर्षीय रामबहादुर पौडेल, २० वर्षीय गौरव बस्नेत, सुन्दरहरैंचा–९ का २१ वर्षीय उत्सव ढकाल र सुनवर्षी नगरपालिका–८ डाइनियाका २८ वर्षीय मोहम्मद मुस्ताफ रहेका छन् ।

डिएसपी गिरीका अनुसार लागुऔषध नाइट्राभेट ३० ट्याब्लेट, कोरेक्स तीन बोतल, स्पास्पोक्रेन प्लस ४८ ट्याब्लेट र विभिन्न कम्पनीका छ वटा मोबाइल सेट फेला परेको छ । पक्राउ परेकाले डाइनियाका मोहम्मद मुस्ताफले आफूहरूलाई लागुऔषध बिक्री गरेको बताएपछि प्रहरीले डाइनिया पुगेर राति नै मुस्ताफलाई पनि पक्राउ गरेको हो ।

पाँचै जनालाई पक्राउ गरेर अनुसन्धान थालिएपछि उनीहरूले सुन्दरहरैंचा–२ का ५२ वर्षीय अब्बास मियाँको घर सुनवर्षीको डाइनियामा छापा मारेको डिएसपी गिरीले बताएका छन् । मियाँको घरबाट विभिन्न कम्पनीका मोबाइलका पाँच थान सेट, लागुऔषध स्पास्पोक्रेन प्लस दुई सय ७८ ट्याब्लेट र नाइट्राभेट एक सय ५० ट्याब्लेट तथा एउटा कटुवा पेस्तोल र तीनवटा गोली बरामद भएको डिएसपी गिरीले जानकारी दिएका छन् ।

डिएसपी गिरीका अनुसार मियाँ भने घरमा नभेटिएको र प्रहरीले तीव्र खोजी भइरहेको छ भने पक्राउ परेकाहरू विरुद्ध लागुऔषध तथा हातहतियार खरखजना मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धान सुरु भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्